काठमाडौं । शीर्ष डिभिजनको क्लब थ्री स्टारले बिदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिनलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दिएको छ ।
सहिद स्मारक ए डिभिजन लिगको दौरान अनुशासन विपरित काम गरेको भन्दै थ्री स्टारले क्लबका दुई विदेशी खेलाडीलाई कारबाहीको माग गरेको हो ।
लिगको दौरान खेल्ने समयमा टिममा नआएको र पुरस्कार वितरण लगायतका कार्यक्रममा उपस्थित नभएको बताउँदै क्लबले कारबाहीको सिफारिस गरेको एन्फाका महासचिव ईन्द्रमान तुलाधरले खेलपाटीलाई जानकारी दिए ।
नाईजेरियन खेलाडी पिटर लामो समययता थ्री स्टारको सेन्टर डिफेन्डसको भुमिकामा देखिदै आएका थिए । थ्री स्टारले गत बर्ष मात्र मार्टिनलाई मुख्य स्ट्राईकरको रुपमा क्लबमा अनुबन्धन गरेको थियो ।
सहिद स्मारक ए डिभिजनमा उत्कृष्ट टोली हुदाँ समेत राम्रो नतिजा नआएपछि थ्री स्टारले क्लबमा ब्यापक परिवर्तन गर्न थालेको छ । लिगको दौरान क्लबलाई धोका दिएको भन्दै थ्री स्टारले दुई विदेशी खेलाडीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।
लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्री स्टार दुवै खेलाडीलाई कारबाही गर्ने निर्णयमा पुगेको हो ।
‘क्लबसंगको सम्झौता विपरित दुई खेलाडीले क्रियाकलाप गरेको भन्दै थ्री स्टारले घरेलु फुटबलमा प्रतिबन्ध गराउन माग गर्दै निवेदन दिएको छ ।’ एन्फा महासचिव तुलाधरले भने ।
एन्फाले थ्री स्टारको निवेदनलाई संघको अनुशासन कमिटिमा पठाएको छ । कमिटिले गरेको सिफारिसका आधारमा दुई खेलाडीलाई कारबाही गर्ने एन्फाले जनाएको छ ।
लिग जित्ने लक्ष्य सहित राष्ट्रिय टिमका स्टार खेलाडीलाई क्लबमा अनुबन्धन गरेर राखेको थ्री स्टारले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
टिममा ब्यापक पुर्नसंरचना गर्दै थ्री स्टारले पिटरको स्थानमा राष्ट्रिय टिमका स्टार डिफेन्डर अनन्त तामाङ र दिनेश राजवंशीलाई क्बलबमा अनुबन्धन गरेको छ । लिगको समापनसंगै थ्री स्टारले राष्ट्रिय टिमका मिडफिल्डर निराजन खड्का र डिफेन्डर विष्णु सुनुवारलाई रिलिज गरिदिएको छ ।