काठमाडौं। महिला एसिया कप २०२४ को दोस्रो सेमिफाइनलमा पाकिस्तान र श्रीलंका आमनेसामने हुँदैछन्। खेल शुक्रबार साँझ ७ :१५ बजे डम्बुलामा सुरु हुनेछ।
समूहचरणमा बंगलादेशलाई ७ र थाइल्यान्डलाई १० विकेट तथा मलेसियालाई १४४ रनले पराजित गर्दै श्रीलंका अन्तिम चारमा पुगेको हो।
पाकिस्तान भने पहिलो खेलमा भारतसँग सात विकेटले पराजित भएको थियो। त्यसपछि प्रतियोगिताका दुई कमजोर राष्ट्र नेपाललाई नौ र युएईलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले श्रीलंकासँगको भेट पक्का गरेको हो।
पछिल्ला दुई वर्षमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धात्मक क्रिकेट भइरहेको छ। दुई टोलीबीच हालसम्म भएका १९ खेलमध्ये पाकिस्तानले १० खेल जितेको छ भने आठ खेलमा श्रीलंका विजयी भएको छ। एक खेल अनिर्णित रह्यो। एसिया कपमा पाकिस्तानले अग्रता लिएको छ। यस प्रतियोगितामा पाकिस्तानले श्रीलंकालाई चारमध्ये तीन खेलमा पराजित गरेको छ।
विश्मी गुणरत्ने अहिले राम्रो फर्ममा छिन्। पछिल्लो १५ खेलमा ३७.७२ को औसतमा ४१५ रन बनाएकी छन्। मुनिबा अलीले पछिल्लो १० खेलमा ३०.४३ को औसतमा २१३ रन बनाएकी छन्।