काठमाडौं। क्यानडा ओलम्पिक कमिटी (सीओसी)ले ड्रोन जासुसी प्रकरणमा मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानलाई पदबाट हटाएको छ। उनलाई क्यानडा सकरले पनि निलम्बन गरेको छ।
पेरिसमा हुने बाँकी खेलका लागि क्यानडाको महिला टोलीको नेतृत्व सहायक प्रशिक्षक एन्डी स्पेन्सले गर्नेछन्। क्यानडा फुटबलका प्रमुख कार्यकारी अधिकृत तथा महासचिव केभिन ब्लुले इजारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो २४ घण्टामा पेरिस २०२४ को ओलम्पिक खेलअघि विपक्षीविरुद्ध ड्रोन प्रयोगबारे हाम्रो ध्यानकर्षण भएको छ।'
पेरिस ओलम्पिकको उद्घाटन खेलमा क्यानडाले न्युजिल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ। टोकियो २०२० को स्वर्ण पदक विजेता टोलीविरुद्धको पहिलो खेलको केही दिनअघि सोमबार क्यानडाका फुटबल स्टाफले उडाएको ड्रोनले न्युजिल्यान्डको प्रशिक्षण सत्रमा बाधा पुर्याएको थियो।
प्रिस्टम्यानले न्युजिल्यान्डका खेलाडीसँग माफी माग्दै सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएकी छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले क्यानडा सकर, प्रिस्टम्यान र क्यानाडा सकरका दुई कर्मचारीविरुद्ध अनुशासनको कारबाही सुरु गरेको छ।