काठमाडौं। महिला एसिया कप २०२४ को सेमिफाइनलमा भारत र बंगलादेशका टोली आमनेसामने हुँदैछन्। खेल शुक्रबार दिउँसो २:१५ बजे डम्बुलामा सुरु हुनेछ। दोस्रो सेमिफाइनल पाकिस्तान र श्रीलंकाबीच साँझ ७ :१५ बजे हुनेछ।
महिला एसिया कपमा भारतीय टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ। अहिलेसम्म खेलेका आठ संस्करणमा भारत सात पटक च्याम्पियन बनेको छ। तर, २०१८ मा बंगलादेशले भारतको विजयी रथ रोकेको थियो। त्यस संस्करणको फाइनलमा बंगलादेशले भारतलाई ११२ रनमा अलआउट गरेको थियो। उक्त लक्ष्य बंगलादेशले तीन विकेट बाँकी रहँदै पूरा गर्यो।
पछिल्लो समय भारत र बंगलादेशबीच रोमाञ्चक खेलहरु भएका छन्। २०२३ मा भारतीय महिला टोली आईसीसी महिला च्याम्पियनसिपअन्तर्गत एक एकदिवसीय शृंखला खेल्न बंगलादेश पुगेको थियो। उक्त शृंखला बराबरीमा समाप्त भएको थियो। तर, २०२४ मा भारतीय टोलीले टी–२० सिरिजमा बंगलादेशलाई ५–० ले हराएको थियो।
शफाली वर्मा यस एसिया कपमा अहिलेसम्मकै सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। उनले अहिलेसम्म १६६.१ को स्ट्राइक रेटमा १५८ रन बनाएका छिन्। उनले नेपालविरुद्ध ८१ रनको इनिङ्स खेलेकी थिइन्।
स्मृति मन्धाना विगत केही महिनादेखि उत्कृष्ट लयमा छिन्। उनले नेपालविरुद्ध ब्याटिङ गरिनन्। तर, एसिया कपमा पाकिस्तानविरुद्ध ४५ रनको राम्रो इनिङ्स खेलेकी थिइन्। हालसालै मन्धनाले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा ११४ को औसतमा ३४३ रन बनाएकी थिइन्।
यस एसिया कपमा सर्वाधिक विकेट लिनेमा नाहिदा अख्तर र राबेया खान दोस्रो र तेस्रो स्थानमा छन्। दुवै बलरले तीन इनिङ्समा पाँच–पाँच विकेट लिएका छन्। यी दुई खेलाडीबाहेक बंगलादेशी ब्याट्सम्यान मुर्सिदा खान पनि राम्रो लयमा छिन्। उनले दुई इनिङ्समा ६५ को औसतमा १३० रन बनाएका छिन्।