काठमाडौं । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा सहभागिता जनाउन भारत जाने विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोलीलाई बिदाइ गरिएको छ। जुलाई २७ देखि अगस्ट ३१ सम्म हुने प्रतियोगितामा आर्मीले दोस्रोपल्ट सहभागिता जनाउन लागेको हो।
टोलीलाई सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले बिहीबार बिदाइ गरे। डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआइआइएफ)को आयोजनामा हुने प्रतियोगितामा आर्मी समूह ‘एफ’df छ। यो समूहमा आर्मीसँगै इन्डियन सुपर लिग (आइएसएल) टोली एफसी गोवा, हैदराबाद एफसी र आई लिग क्लब सिलोङ लाजोङ एफसी रहेका छन्।
१३३औं संस्करणमा इन्डियन सुपर लिग, आई लिगका र अन्य आमन्त्रण अन्तर्राष्ट्रिय र सशस्त्र बलसहित २४ टोलीले सहभागिता जनाउनेछन्। कुल ४३ खेल हुने प्रतियोगिता राउन्ड रोबिन लिग कम नकआउट ढाँचामा खेलाइनेछ। आर्मीले अगस्ट २ मा आर्मी र सिलोङसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल अगस्ट ८ मा गोवा र लिग चरणको अन्तिम खेलमा अगस्ट १३ मा आर्मीले हैदराबादको सामना गर्नेछ । यो समूहका सबै खेल जवाहरलाल नेहरु रंगशालामा हुनेछन् ।
आर्मीले गत सिजन पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा आर्मी चेन्नइयिन एफसीसँग ३–० र हैदराबादसँग ३–० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।