काठमाडौं। नेपाली महिला टोलीका कप्तान इन्दु बर्माले एसिया कपबाट आफ्नो टोलीले ठूलो प्लेटफर्ममा खेल्न सक्छौं भन्ने सन्देश दिएको बताएकी छन्।
तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। तर, पाकिस्तानसँग नौ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।
बिहीबार स्वदेश फिर्ता भएपछि उनले भनिन्, ‘टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो। यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो। हामीले खेल्न सक्छौं भन्ने सन्देश गएको छ। टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौं जस्तो लाग्छ।’
युएईसँग भने कसरी हुन्छ जित चाहिन्छ भन्ने रहेको उनले बताइन्। त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएर सक्दो प्रयास गरेको उनको भनाइ थियो। ‘धेरै वर्षपछि हामीले युएईलाई बिट गर्न सक्यौं। बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ। भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरें,’ उनले भनिन्।
उनले टोलीमा धेरै कमजोरीहरू रहेको स्वीकारिन्। ‘हामीले सुधार गर्नुपर्ने चिज धेरै छ। बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ। हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौं भने ठूला टिमलाई बिट गर्न सक्छौं,’ उनले भनिन्।
फ्लड लाइटमा खेल्दा त्यस्तो फरक नपरेको र यसलाई एक्स्क्युज बनाउन नचाहेको उनले बताइन्। ‘ट्वान्टी-२० गेमको बेलामा प्रेस हुन्छ। फ्लड लाइटले ठूलो फरक पर्दैन,’ उनले भनिन्।