काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिइल) फ्रान्चाइजीहरूले प्रत्येक पाँच वर्षमा मेगा अक्सन हुने भएकाले टोलीलाई चारदेखि ६ खेलाडी रिटेन गर्न दिनुपर्ने बताएका छन्। साथै उनीहरूले आठ राइट टु म्याच (आरटीएम) कार्डको विकल्प दिन पनि माग गरेका छन्।
आईपीएल फ्रेन्चाइजीका एक वरिष्ठ अधिकारीका अनुसार प्रत्येक तीन वर्षको सट्टा हरेक पाँच वर्षमा मेगा अक्सन आयोजना गर्नु बढी फाइदाजनक हुन्छ। यसले फ्रान्चाइजलाई युवा अनक्याप्ड खेलाडीहरू विकास गर्न पर्याप्त समय दिनेछ। पहिलो सिजनदेखि नै प्रतियोगिताको हिस्सा बनेका फ्रान्चाइजीहरूले युवा प्रतिभाको खोजीमा ठूलो लगानी गरेका छन्। उनीहरूले प्रतिभा खोज्न क्रिकेट एकेडेमीहरू पनि स्थापना गरेका छन्।
पछिल्लोपल्ट २०१७ मा मेगा अक्सन भएको थियो। त्यो वर्ष चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स दुई वर्षको प्रतिबन्ध पछि फर्केका थिए। कोरोना महामारीका कारण अर्को मेगा अक्सन २०२१ मा भएको थियो।