काठमाडौं। एस्टन भिल्लाले फ्रान्सका विंगर मोउसा डियाबीलाई साउदी प्रो लिग क्लब अल–इत्तिहादलाई ५ करोड पाउन्ड (६ करोड ५० लाख अमेरिकी डलर) मा बेचेको पुष्टि गरेको छ ।
२५ वर्षीय डियाबी गत समरमा भिल्ला पार्कमा सरेका थिए। उनले सबै प्रतियोगिताहरूमा ५४ खेलमा १० गोल गरेका थिए। उनले उनाई एमरीको टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन सहयोग पनि गरेका थिए।
डियाबीले यसअघि जर्मनीमा चार वर्ष बायर लेभरकुसेनमा बिताएका थिए। त्यसपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेका थिए। अब उनी करिम बेन्जेमा र एन'गोलो कान्टेका साथै लिभरपुलका पूर्वमिडफिल्डर फाबिन्होसँग खेल्नेछन्। मुख्य प्रशिक्षक लोरेन्ट ब्लाङ्कको नेतृत्वमा रहेको अल–इत्तिहादले पाँचौं स्थान हासिल गर्ने लक्ष्य राखेको छ।