काठमाडौं। एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। बुधबार समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकाले थाइल्यान्डलाई १० विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
समूह ‘ए’ बाट साबिक विजेता भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन्। शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको भारतले पाकिस्तानलाई सात विकेट, युएईलाई ७८ र नेपाललाई ८२ रनले पराजित गरेको थियो। पाकिस्तानले भने नेपाललाई नौ र युएईलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
अर्को समूहबाट श्रीलंकाले शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै अन्तिम चारको यात्रा तय गर्यो। श्रीलंकाले बंगलादेशलाई सात र थाइल्यान्डलाई १० विकेटले पराजित गर्यो। यस्तै, मलेसियालाई १४४ रनले पाखा लगायो। बंगलादेश समूह उपविजेता बन्यो। बंगलादेशले थाइल्यान्डलाई सात विकेट र मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो।
अब फाइनल प्रवेशका लागि बंगलादेशले समूह ‘ए’ को विजेता भारत र श्रीलंकाले सोही समूहको उपविजेता पाकिस्तानसँग खेल्नेछ। सेमिफाइनलका खेल शुक्रबार हुनेछ। पहिलो सेमिफाइनलमा भारत र बंगलादेश भिड्नेछन्।
यो खेल नेपाली समयअनसार दिउँसो २:३० बजे सुरु हुनेछ। श्रीलंका र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनल खेल ७:३० बजे सुरु हुनेछ। फाइनल खेल आइतबार दिउँसो ३:३० बजे सुरु हुनेछ।