काठमाडौं। युइएफएले स्पेनिस खेलाडी अल्भारो मोराटा र रोड्रीविरुद्ध अनुशासनको कारबाही सुरु गरेको छ।
इङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै युरो कप जितेको भोलिपल्ट जुलाई १५ मा स्पेनको राजधानी मड्रिडमा आयोजित एक सार्वजनिक समारोहमा खेलाडीहरूले 'जिब्राल्टर इज स्पेनिस' गीत गाएका थिए। जिब्राल्टर स्पेनको दक्षिणी भागमा अवस्थित एक बेलायती क्षेत्र हो।
जिब्राल्टरको फुटबल एसोसिएसनले युइएफएमा औपचारिक उजुरी दर्ता गरेको थियो। युइएफएले नियम उल्लंघन गरे या नगरेको छानबिन गर्न एक नैतिकता र अनुशासनात्मक निरीक्षक नियुक्त गरेको थियो।
रोड्री र मोराटाविरुद्ध लगाइएको अभियोगमा सभ्य आचरणका आधारभूत नियमहरू, आचरणका सामान्य सिद्धान्तहरूको उल्लंघन, गैर-खेल प्रकृतिको अभिव्यक्तिको लागि खेल कार्यक्रमहरू प्रयोग गर्ने र फुटबलको खेललाई बदनाम गर्ने समावेश छ।