काठमाडौं। बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले क्लबको परम्परागत पासिङ शैलीको सम्मान गर्ने तर गोलमा केन्द्रित भएर नयाँ रणनीति अपनाउन आवश्यक रहेको बताएका छन् ।
बार्सिलोनाले गत मे महिनामा जाभी हर्नान्डेजलाई बर्खास्त गरेको थियो। उनको स्थानमा जर्मनी र बायर्न म्युनिखका पूर्वप्रशिक्षकलाई दुई वर्षका लागि क्याटलान क्लबले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
'यहाँ पासिङसँग खेल्ने परम्परा छ। तर, उनीहरू सीधै गोलमा जाउन् भन्ने म चाहन्छु,' उनले भने, 'उनीहरूले गोल गर्नमा बढी ध्यान दिनुपर्छ। मैले खेल्ने शैलीमा कुनै ठूलो परिवर्तन गर्नुपर्छजस्तो लाग्दैन।'
बार्सिलोनाले जुलाई ३० मा प्रि-सिजनअन्तर्गत फ्लोरिडामा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ भने अगस्ट १७ मा भ्यालेन्सियासँग खेल्दै ला लिगा अभियान सुरु गर्नेछ। 'उच्च प्रतिस्पर्धा र बक्स टू बक्स खेल्ने शैलीको खोजीमा छु। तर, अन्तमा सबै कुरा खेल जित्नका लागि हुन्। गोल नै सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ,' उनले भने।