काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले केभिन डी ब्रुएनाले क्लबबाट नछाड्ने बताएका छन्। इङ्लिस प्रिमियर लिग च्याम्पियनसँग करिब एक दशक बिताएका ब्रुएना आउँदो समर विन्डोमा सिटी छोडेर साउदी प्रो लिग क्लब अल इत्तिहाद जाने हल्ला चलेको छ।
तर, ग्वार्डिओलाले सन् २०२५ सम्म सम्झौता बाँकी रहेका ब्रुएनाले क्लब नछाड्ने बताएका हुन्। उनले अगस्ट ३० मा समाप्त हुने ट्रान्सफर विन्डोको अन्त्यअघि टोलीमा कुनै ठूलो परिवर्तन नहुने विश्वास व्यक्त गरेका छन्।
'केभिन जाँदैनन्,' सोमबार नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीमा आयोजित पत्रकार सम्मेलनमा ग्वार्डिओलाले सेल्टिकविरुद्धको पहिलो अमेरिकी टुर म्याचअघि भने, 'म धेरै वर्षदेखि टोलीसँग छु। मलाई थाहा छैन बजारमा के हुन्छ, यदि कसैले छोड्यो भने हामी त्यसको बारेमा कुरा गर्नेछौं।'
सन् २०१५ मा पाँच करोड ५० लाख पाउन्डमा वुल्फ्सबर्गबाट ब्रुएना सिटीमा अनुबन्धित भएका थिए। केही दिनअघि पत्रकार रुडी ग्यालेट्टीले अल इत्तिहादले बेल्जियमका मिडफिल्डरसँग सहमति गरिसकेको बताउका थिए। स्थानान्तरणका लागि दुई क्लबबीच वार्ता जारी रहेको उनको दाबी थियो।
'८५–९५ प्रतिशत हामीसँग एउटै टोली हुनेछ। हामीले बजारमा प्रभाव पारेका छौं र हरेक परिस्थिति फरक छ। म सहज महसुस गर्छु किनभने टोलीमा हामीसँग जुन गुण छ त्यसलाई प्रतिस्थापन गर्न गाह्रो छ,' ग्वार्डिओलाले भने।
सिटीले गत साता २० वर्षीय ब्राजिलियन विंगर साभिन्होलाई अनुबन्ध गरेको थियो। ग्वार्डिओलाले वेस्ट ह्याम युनाइटेडमा लोनमा रहेका काल्भिन फिलिप्सले पनि टोलीसँग प्रशिक्षण गरिरहेको पुष्टि गरेका थिए। 'साभिन्हो विंगमा खेल्न सक्छन्,' उनले भने।