काठमाडौं। भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट भएका फुटबल खेलाडीहरूको दोस्रो टोली मंगलबार बेङ्गलोर प्रस्थान गरेको छ।
भगवती क्लबका पूर्वअध्यक्ष प्रकाश श्रेष्ठ तथा व्यवस्थापक राजु विक्रम थापाको नेतृत्वमा ४६ सदस्यीय टोलीेले बेङ्गलोरको किक स्टार्ट फुटबल क्लब (एफसी) मा छनोट परीक्षण दिनेछन्। परीक्षणबाट उत्कृष्ट खेलाडीको रुपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनह्याममा सहभागिता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराए।
बेङ्गलोर गएको टोलीले तीन दिनसम्म शारीरिक, खेल कौशलता परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउने छन्। त्यसपश्चात खेलाडीहरू नेपाल फर्कने र परीक्षणमा छनोट हुन सफल खेलाडीहरूले आवश्यक प्रक्रिया पूरा गरेर पुनः एकेडेमीमा प्रशिक्षण लिन जानेछन्।
यसअघि छनोट चरणमा सहभागी ३६ खेलाडीमध्ये ५ खेलाडीले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् भने अन्य खेलाडीले ९० प्रतिशतदेखि १० प्रतिशत सम्मको छात्रवृत्ति प्राप्त गरेका छन्।
रोड टु टोटनह्याम कार्यक्रममा देशभरका करिब ३ हजार खेलाडीको सहभागिता रहेको थियो। किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिनसम्म सञ्चालन गरेको कार्यक्रमबाट पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरूलाई दोस्रो चरणको लागि बेङ्गलोरमा छनोट गर्न लागिएको हो।