काठमाडौँ — कर्पोरेट क्रिकेट लिग (सीसीएल) भदौ १ गतेदेखि सुरु हुने भएको छ ।
आयोजक भेट्रान्स फोर्टी प्राइभेट लिमिटेडले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो । सीसीएल ललितपुरको हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा हुनेछ । भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिता चार दिनसम्म चल्नेछ ।
प्रतियोगितामा २० कर्पोरेट टोलीले सहभागिता जनाउने आयोजकले बताएको छ ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोली क्वाटरफाइनल पुग्ने छन् । प्रतियोगिता विजेतालाई अर्को संस्करणमा निःशुल्क सहभागी गराइने आयोजक भेट्रान्स फोर्टी प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमलाई दर्ता शुल्क ५० हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने छ । प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।