काठमाडौं। भारतीय क्रिकेटमा गौतम गम्भीर युग सुरु हुँदैछ। यसको सुरुआत श्रीलंका भ्रमणबाट हुनेछ।
ट्वान्टी-२० बाट सन्न्यास लिएका रोहित शर्मा र विराट कोहलीले एक दिवसीय टोलीमा स्थान पाएका छन्। तर, दुवैको उमेर ३५ वर्षभन्दा माथि छ। त्यसो भए उनीहरू कहिलेसम्म एक दिवसीय वा टेस्ट टोलीमा पर्छन्?
यो निर्णय यी दुवै खेलाडीले लिनुपर्ने गम्भीरको भनाइ छ। तर, दुवैमा अझै धेरै क्रिकेट खेल्ने जोश बाँकी रहेको र आफ्नो फिटनेस कायम राखे भने निकट भविष्यमा पनि एक दिवसीय र टेस्ट टिमको हिस्सा रहने गम्भीरले बताए।
श्रीलंका प्रस्थान गर्नुअघि पत्रकार सम्मेलनमा गम्भीरले भने,'उनीहरूले ठूला मञ्चमा र प्रतियोगिताहरूमा के गर्न सक्छन् भन्ने देखाएका छन्। चाहे त्यो ट्वान्टी-२० विश्वकप होस् वा एकदिवसीय विश्वकप। उनीहरूको फिटनेस कायम रह्यो भने २०२७ को एक दिवसीय विश्वकपको पनि हिस्सा बन्न सक्छन्।'
यद्यपि, गम्भीरले कति समय खेल्ने भन्ने दुवै खेलाडीको व्यक्तिगत निर्णय हुने पनि बताए।
उनले भने, 'म उनीहरुको निर्णय लिन सक्दिनँ, यो निर्णय उनीहरुले मात्रै लिनुपर्छ। टोलीको सफलतामा कति समय र कति योगदान दिन सक्छन् भन्ने निर्णय खेलाडीले गर्ने हो। सबैभन्दा महत्त्वपूर्ण रोहित र विराट एक विश्वस्तरका खेलाडी हुन् र उनी अझै पनि भारतीय क्रिकेटलाई धेरै दिन सक्छन् र कुनै पनि टोलीले उनलाई लामो समयसम्म साथमा राख्न चाहन्छ।'