काठमाडौं। म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएनाले साउदी प्रो लिग क्लब अल इत्तिहादसँग व्यक्तिगत सम्झौता गरेका छन्।
इङ्लिस प्रिमियर लिग च्याम्पियनसँग करिब एक दशक बिताएका डी ब्रुएनाको सम्झौता सन् २०२५ को जुनमा सकिँदैछ।
पत्रकार रुडी ग्यालेट्टीका अनुसार अल इत्तिहादले बेल्जियमका मिडफिल्डरसँग सहमति गरिसकेको छ। स्थानान्तरणका लागि दुई क्लबबीच वार्ता जारी रहेको उनले बताएका छन्।
यदि सम्झौता पूरा भएमा डी ब्रुएनाले करिम बेन्जेमा, फाबिन्हो र एन'गोलो कान्टेसँग साउदी प्रो लिग खेल्नेछन्। गत महिना एक अन्तर्वार्तामा डी ब्रुएनाले भनेका थिए, 'मेरो उमेरमा सबै कुराका लागि खुला हुनुपर्छ।'
सन् २०१५ मा पाँच करोड ५० लाख पाउन्डमा वुल्फ्सबर्गबाट उनी सिटीमा अनुबन्धित भएका थिए।