काठमाडौं। नेपालले एसिसी महिला ट्वान्टी-२० एसिया कपको दोस्रो खेलमा पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानकी कप्तान निदा डारले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्। नेपालले दोस्रो खेलमा एक परिवर्तन गरेको छ।
मुख्य प्रशिक्षक मनोज कटवालले स्पिनर सबनम राईलाई पाकिस्तानविरुद्धको खेलमा आराम दिएका छन्। उनले युएईविरुद्धको पहिलो खेलमा तीन ओभर बलिङ गर्दै २७ रन खर्चिएर एक विकेट लिएकी थिइन्।
उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान रोमा थापाले मौका पाएकी छन्।
पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो। पाकिस्तान भने भारतसँग ९ विकेटले पराजित भएको थियो।
यस खेलमा पाकिस्तानलाई हराए नेपालले समूहचरण पार गर्ने छ। पाकिस्तानलाई भने यस खेलमा जित निकाले पनि युएईविरुद्धको अन्तिम खेल र नेपाल र भारतबीचको नतिजा भर पर्नुपर्ने हुन्छ।