काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एन्फा यु- १८ युथ लिगमा लगातार दोस्रो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एपिएफले एफसी खुमलटारलाई ४-० गोलअन्तरले स्तब्ध पारेको हो।
जितसँगै एपिएफ तीन खेलबाट सात अंक जोडेको छ। पराजित खुमलटारको समान खेलबाट तीन अंक छ। एपिएफलाई जित दिलाउन सुनिल थिङले दुई गोल गरे। यस्तै, रोहित गोले र साजन योञ्जनले समान एक गोल गरे।।
१२औं मिनेटमा सुरजप्रसाद साहले रातो कार्ड पाएपछि खुमलटार १० खेलाडीमा समेटिएको थियो। ४८औं मिनेटमा एपिएफले सुरुआती अग्रता लिएको थियो। एपिएफका लागि रोहितले गोल गरे। त्यसको ६ मिनेटपछि नै सुनिलले अग्रता दोब्बर बनाए।
६७ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा साजनले एपिएफका लागि चौथो गोल गर्दै सानदार जित दिलाए।