काठमाडौं। एसिसी महिला एसिया कपअन्तर्गत नेपालले आइतबार पाकिस्तानको सामना गर्दै छ। खेल नेपाली समयअनुसार बेलुकी ७:१५ मा सुरु हुने छ।
पहिलो खेलमा ऐतिहासिक जित निकालेको नेपालले पाकिस्तानलाई हराएमा समूहचरण पार गर्ने निश्चित प्रायः हुने छ। पाकिस्तानले भने आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। सम्झना खड्काको यादगार इनिङ्सको मद्दतमा नेपालले एसिया कप इतिहासकै पहिलो जित निकालेको थियो। नेपाली टोली आज पुनः त्यही सुरुआती ११ का साथ मैदान प्रवेश गर्न सक्छ। युएईविरुद्ध ब्याटिङ र बलिङ दुवैमा लयमा देखिएको नेपालले फेरि त्यही लय समाउने कोसिस गर्ने छ।
पाकिस्तान आफ्नो पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा फितलो देखिएको थियो। भारतका बलरहरूले पाकिस्तानको इनिङ्स धराशायी पार्दा पाकिस्तान निरीह देखिएको थियो। त्यसै गरी भारतीय ब्याटर सुरुदेखि नै आक्रामक बन्दा पाकिस्तानले रोक्न सकेन।
क्रिकेट इतिहासमा नेपालले अहिलेसम्म टेस्ट राष्ट्रलाई हराएको छैन । पाकिस्तानका लागि यो खेल गर या मरको स्थितिमा छ। पाकिस्तानलाई हराउँदै अभूतपूर्व सफलता हासिल गर्ने मौका त छ नै महिला क्रिकेटका लागि एक सुनौलो इतिहासको सिर्जना पनि हुन सक्छ।