काठमाडौं। भारतीय बलर श्रेयंका पाटिल चोटका कारण महिला एसिया कपबाट बाहिरिएकी छन्।
२१ वर्षीय भारतीय अफ स्पिनरको देब्रे हातको चौथो औंला भाँचिएको छ। एसिया कपमा भारतले पाकिस्तानसँग एउटा मात्र खेल खेलेको छ। उक्त खेलमा श्रेयंकाले ३.२ ओभरमा १४ रन दिएर २ विकेट लिएकी थिइन्।
यो खेल भारतले १५औं ओभरमै सहजै जितेको थियो। त्यसैले श्रेयंकाले ब्याटिङ गर्नुपरेन। श्रेयंकाको स्थानमा २६ वर्षीया लेफ्ट आर्म स्पिनर तनुजा कँवरलाई टोलीमा समावेश गरिएको छ।
तनुजाले अहिलेसम्म भारतका लागि कुनै खेल खेलेका छैनन्। उनी महिला प्रिमियर लिगमा गुजरात जायन्ट्स र घरेलु क्रिकेटमा रेलवेका लागि खेल्छिन्।
महिला प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि श्रेयंकाले डिसेम्बर २०२३ मा भारतीय टोलीका लागि डेब्यु गरेकी थिइन्। यो वर्ष उनी रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीमा थिइन्। उनले उक्त प्रतियोगितामा १३ विकेट लिएका थिए। उनी सर्वाधिक विकेटकर्ता बनेकी थिइन्।
श्रेयंकाले भारतका लागि १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेकी छन्, जसमध्ये उनले दुई खेलमा मात्रै विकेट लिन सकेकी छैनन्। यसबाहेक उनले तीन ओडीआई खेल पनि खेलिसकेका छन्।