काठमाडौं। स्पेनिस फरवार्ड निको विलियम्सलाई अनुबन्धित गर्न बार्सिलोनाका समर्थकले क्लबको आधिकारिक टिकटक अकाउन्टमा रकम सहयोग गरिरहेका छन्।
ला लिगा क्लब एथलेटिक बिल्बाओका २२ वर्षीय विंगरले युरो कपमा सानदार प्रदर्शन गरेका थिए। स्पेनले फाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदा उनले एक गोल गरेका थिए। विलियम्सले बार्सिलोनाका फरवार्ड लामिन यामालसँग आशाजनक साझेदारी गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।
बार्सिलोनाका समर्थकहरु अहिले यामाल र विलियम्सको आक्रामक जोडीका लागि उत्सुकताका साथ दबाब दिइरहेका छन्। क्याटलान क्लब पछिल्लो समयमा आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ। त्यसैले समर्थकहरूले टिकटकमा आर्थिक सहयोग गरेका हुन्।
'साइन निको, हामीलाई निको चाहिन्छ'। लगायतका कमेन्ट बार्सिलोनाका समर्थकले गरिरहेका छन्। ट्रान्सफरमार्कका अनुसार विलियम्सको हालको बजार मूल्य ७० मिलियन युरो (७६.२९ मिलियन अमेरिकी डलर) रहेको छ। एथलेटिकले उनको रिहाई शुल्क ५८ मिलियन तोकेको छ।
ला लिगामा दोस्रो स्थानमा रहेको र गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अहिलेसम्म कुनै पनि खेलाडी अनुबन्ध गरेको छैन।