काठमाडौं। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ग्लोबल टी–२० क्यानडाका लागि शाहीन शाह अफ्रिदी, बाबर आजम र मोहम्मद रिजवानलाई एनओसी (नो–अब्जेक्शन सर्टिफिकेट) दिन अस्वीकार गरेको छ। पीसीबीले एक विज्ञप्तिमा भनेको छ, 'तीन खेलाडी र छनोट समितिसँगको परामर्शपछि यो निर्णय लिइएको हो।'
अघिल्लो हप्ता पीसीबीले नसिम शाहलाई द हन्ड्रेड खेल्न एनओसी दिन अस्वीकार गरेको थियो। नसिमलाई बर्मिङ्घम फिनिक्सले लगभग १ करोड ३५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो।
गत वर्ष पीसीबी र खेलाडीहरूले हस्ताक्षर गरेको तीन वर्षको केन्द्रीय सम्झौतामा पाकिस्तानको अन्तर्राष्ट्रिय तालिकासँग टकराव नभएको खण्डमा प्रत्येक वर्ष दुईवटा विदेशी फ्रेन्चाइज प्रतियोगिताहरू खेल्न अनुमति दिने उल्लेख थियो। यद्यपि, सम्झौतामा पीसीबीले एनओसी दिन अस्वीकार गर्न सक्ने पनि बताइएको छ।
तर, ग्लोबल टी–२० को हकमा एनओसी नदिनुको कारण फरक छ। यो प्रतियोगिता पाकिस्तानको कुनै पनि अन्तर्राष्ट्रिय तालिकासँग बाझिएको छैन। जसका कारण प्रभावित खेलाडीमा असन्तुष्टि आउन सक्छ।
अफ्रिदीले विशेषगरी क्यानडाको ग्लोबल टी–२० मा सहभागी हुन पाउने अपेक्षा गरेका थिए। उनले गत महिना द हन्ड्रेडबाट बाहिरिने घोषणा पनि गरेका थिए। ग्लोबल टी–२० प्रतियोगिताबाहेक पाकिस्तानी खेलाडीले बाँकी टी–२० लिगका लागि एनओसी नपाउने अनुमान गरिएको छ। यसको सबैभन्दा ठूलो कारण अन्तर्राष्ट्रिय कार्यक्रम निकै व्यस्त हुनु हो।