काठमाडौं। इङ्ल्यान्ड फुटबल संघ (एफए)ले ग्यारेथ साउथगेटको स्थानमा ठूलो प्रतियोगिता जित्न सक्ने प्रशिक्षकको खोजी गरिरहेको छ।
युरो कपको फाइनलमा स्पेनसँग पराजित भएपछि साउथगेटले मंगलबार राजीनामा दिएका थिए। इङ्ल्यान्डलाई १९६६ को विश्वकपपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उपाधि दिलाउन साउथगेट असफल भएका थिए।
त्यसैले युरो कपको हारको जिम्मेवारी आफूले लिँदै उनले आठ वर्षपछि इङ्ल्यान्डको टोली छाडेका हुन्। योसँगै नेसन्स लिग खेल्ने तरखरमा रहेको इङ्ल्यान्ड मुख्य प्रशिक्षक खोजी गर्न बाध्य भएको हो। एफएले गत शुक्रबार नयाँ प्रशिक्षकको आवेदन माग गरेको छ।
एफएका अनुसार प्रकाशित मापदण्ड अनुसार जो उपयुक्त हुन्छ त्यही टोलीको प्रशिक्षक हुनेछन्। अहिले प्रिमियर लिग क्लब न्युक्यासलका प्रशिक्षक एडी होवे, चेल्सीका पूर्वप्रशिक्षक ग्राहम पोटर, माउरिसियो पोचेटिनो र थोमस टुचेल तथा टोटेनह्यामका प्रशिक्षक एन्ज पोस्टेकोग्लु चर्चामा रहेका छन्।
साउथगेटको प्रशिक्षणमा यसअघि पनि इङ्ल्यान्ड युरो कप २०२० को फाइनलमा पुगेको थियो। तर, पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित भएको थियो। रुस विश्वकपमा पनि यो टोली क्रोएसियासँग २-१ गोलले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो। यसपल्ट पनि अपराजित रहँदै युरो कपको फाइनलमा पुगेको टोली स्पेनसँग २-१ गोलअन्तरले पराजित हुन पुग्यो।
एफएले टोलीको विकास गरी ठूलो प्रतियोगिता जित्न र लगातार विश्वको शीर्ष टोलीको सूचीमा पर्नसक्ने प्रशिक्षकको खोजी गरिरहेको जनाएको छ। प्रशिक्षक बन्न युइएफएको प्रो लाइसेन्स हुनुपर्ने जनाइएको छ। इङ्लिस फुटबलको महत्त्वपूर्ण अनुभव, प्रिमियर लिग र अग्रणी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राम्रो ट्रयाक रेकर्ड रहेको हुनुपर्ने एफएले जनाएको छ।
समानता, विविधता र समावेशीकरणलाई बढावा दिँदै एफएले मापदण्ड पूरा गर्ने सबैको आवेदनलाई स्वीकार गर्ने बताएको छ। एफएले आवेदनका लागि अगस्ट २ तारिखको अन्तिम मिति तोकेको छ। इङ्ल्यान्डले नयाँ सिजनको पहिलो खेल सेप्टेम्बर ७ मा रिपब्लिक अफ आयरल्यान्डसँग नेसन्स लिगमा खेल्नेछ।