काठमाडौं। इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आठ वर्षपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। योसँगै इङ्ल्यान्डमा नयाँ प्रशिक्षकको खोजी भइरहेको छ ।
इङ्ग्लिस फुटबल संघ (एफए)ले साउथगेटलाई प्रतिस्थापन गर्ने प्रक्रिया सुरु गरिसकेको र जर्गेन क्लोप, सरिना विगम्यान र एडी होवेलाई सम्भावित प्रशिक्षकको रुपमा हेरिएको जनाएको छ ।
ङ्ल्यान्डले सेप्टेम्बर ७ मा नेसन्स लिगमा आयरल्यान्ड्सँग खेल्दैछ। तर, एफएले आफ्नो अर्को प्रशिक्षकको बारेमा निर्णय गर्न हतार गर्नुको साटो अन्तरिम प्रशिक्षकको साथ उक्त खेलमा जान तयार रहेको बताएको छ।
एफएका प्रमुख कार्यकारी मार्क बेलिङ्घमले भने, 'ग्यारेथको उत्तराधिकारी नियुक्त गर्ने प्रक्रिया चलिरहेको छ। जतिसक्दो चाँडो नियुक्त गर्ने लक्ष्य राखेका छौं।'
सिजनको अन्त्यमा लिभरपुलको प्रशिक्षकबाट राजीनामा दिएका क्लोप उपलब्ध छन् भने माउरिसियो पोचेटिनो पनि चेल्सीबाट बाहिरिएपछि कामविहीन छन्।
क्लोप एनफिल्डमा आएयता लिभरपुल युरोपेली क्लब फुटबलको शक्ति बनेको थियो। जर्मन प्रशिक्षकको नेतृत्वमा लिभरपुलले सन् २०२० मा प्रिमियर लिग जितेको थियो। यस्तै, सन् २०१९ मा च्याम्पियन्स लिग पनि जितेको थियो ।
गत जनवरीमा राजीनामा दिने घोषणा गर्दा आफूसँग ऊर्जा समाप्त भएको बताएका थिए। उनलाई अमेरिकी पुरुष टोलीसँग जोडेर अड्कलबाजी सुरु भएको थियो। तर, उनले आफूलाई आराम चाहिएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए।
'म इङ्ल्यान्डमा लिभरपुलभन्दा फरक क्लबलाई कहिल्यै प्रशिक्षण दिने छैन,' उनले जनवरीमा भनेका थिए। क्लोपसँग इङ्लिस फुटबलको ज्ञान र समर्थक छ। उनको क्षमताले बोरुसिया डर्टमुन्ड र लिभरपुललाई पुनर्जीवित गरेको थियो। जर्मनी र इङ्ल्यान्डमा मुख्य उपाधि जितेका कारण उनलाई आधुनिक युगको उत्कृष्ट प्रशिक्षक भन्न सकिन्छ।
पोचेटिनोसँग इङ्लिस खेलको बलियो ज्ञान छ। उनले टोटेनह्याम र चेल्सी सम्हालिसकेका छन्। सन् २०१९ मा टोटेनह्यामलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका उनले फ्रान्सेलि क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट फ्रेन्च उपाधि जितेका थिए। उनले सन् २०१९ मा पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए।
थोमस टुचेलले इङ्ल्यान्डमा चेल्सीलाई प्रशिक्षण दिएका थिए। उनले २०२१ मा च्याम्पियन्स लिग जितेका थिए। गत सिजनको अन्त्यमा बायर्न म्युनिख छाडेपछि उनी खालि छन् । सन् २०२२ मा युरोपियन च्याम्पियनसिप जितेकी विगम्यान हाल इङ्ल्यान्ड महिला टोलीकी मुख्य प्रशिक्षक हुन् ।
गत वर्ष महिला विश्वकपको फाइनलमा स्पेनसँग पराजित हुँदा उनी नै टोलीको प्रशिक्षक थिइन्। नेदरल्यान्ड्सकी विगम्यानले पनि सन् २०१७ मा आफ्नो देशसँग युरो जितेकी थिइन् ।
इङ्ल्यान्डले आफ्नो पुरुष टोलीका लागि कहिल्यै पनि महिला प्रशिक्षक नियुक्त गरेको छैन। तर, विगम्यानको रेकर्ड अन्य धेरै दावेदारहरूविरूद्ध भारी पर्नेछ।
सन् २०२३ मा न्युक्यासललाई च्याम्पियन्स लिगमा पुर्याएका होवे अन्य इङ्लिस प्रशिक्षकभन्दा अब्बल छन्।