काठमाडौं । सुर्यकुमार यादव भारतीय टी ट्वान्टी क्रिकेट टिमको नयाँ कप्तान बनेका छन् । हार्दिक पान्डेयालाई पछि पार्दै सुर्यकुमार भारतीय टी ट्वान्टी क्रिकेट टिमको नयाँ कप्तान बनेका हुन् ।
भारतले श्रीलंका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । जसमा पान्डेयालाई पछि राख्दै सुर्यकुमारलाई कप्तानीको जिम्मेवारी दिईएको छ । शुभमन गिलको कप्तानीमा भारतले हालैमात्र जिम्बाब्बेलाई उसैको घरमा ५ म्याचको टी ट्वान्टी सिरिजमा ४–१ ले हराएको थियो ।
श्रीलंका भ्रमणमा भारतले तीन वान डे र तीन टी ट्वान्टी म्याच खेल्नेछ । नयाँ प्रशिक्षकको रुपमा गौतम गम्भिरको पहिलो भ्रमण समेत श्रीलंकानै हुनेछ ।
श्रीलंका भ्रमणमा वान डे र टी ट्वान्टी टिममा शुभमन गिलले उप कप्तानको जिम्मेवारी पाएका छन् । पान्डेया टी ट्वान्टीको उप कप्तानको जिम्मेवारीबाट समेत पछि परेका छन् । वान डे टिममा ऋषभ पन्त समेत फर्किएका छन् भने रियान परागलाई दुवै सिरिजमा मौका दिईएको छ ।
पछिल्लो विश्वकप जितेपछि कप्तान रोहित शर्माले टी ट्वान्टी ढाचाको क्रिकेटबाट सन्यास लिएका थिए ।
भारतीय टी ट्वान्टी टिम : सुर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जयसवाल, रिंकु सिंह, रियाद पराग, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पान्डेया, शिवभ दुबे, अक्षर पटेल, बासिंगटन सुन्दर, रवि बिश्रोई, अर्शदीप सिंह, खलील अहमद र मोहम्मद सिराज ।