काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१८ युथ लिगमा लगातार दोस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा पुलिसले संकटा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ। दुवै खेलमा पराजित संकटा अंकविहीन छ।
पहिलो खेलमा पुलिसले थ्री स्टार क्लबलाई ७–२ गोअन्तरले पराजित गरेको थियो। संकटा भने मनाङ मर्स्याङदी क्लबसँग १–० ले पराजित भएको थियो।
पुलिसलाई जित दिलाउन दुवै गोल रञ्जित लामाले गरे। ७७औं मिनेटमा रञ्जितको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। उनले आदित्य ढुंगेलको क्रसलाई ‘वान टच’मै पोस्टको दिशा दिए।
तीन मिनेटपछि नै कप्तान सुवास बमको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रञ्जितले पुलिसलाई सहज जित दिलाए।