काठमाडौं। विभागीय टोली एपिएफले एन्फा यु–१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा एपिएफले सातदोबाटो युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
एपिएफको जितमा विकास टिटुङ र किशोर गुरुङले गोल गरे। यता, सातदोबाटोका लागि योहान्ना लिम्बूले सान्त्वना गोल गरे।
पहिलो खेलमा जाउलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको एपीएफले जितसँगै दुई खेलबाट चार अंक जोडेको छ। सादोबाटोको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा एफसी खुमलटारसँग सातदोबाटो २–० पराजित भएको थियो।
१३औँ मिनेटमा विकासले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा एपिएफका लागि किशोरले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए। जिततर्फ अग्रसर बनेको एपिएफले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल खान पुग्यो।
त्यसपछि बाँकी समय थप गोल नभएपछि एपिएफ २–१ गोलले विजयी बन्यो।