एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि २९९ रनको लक्ष्य दिएको छ ।
एडिलेटमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९८ रन बनायो ।
अष्ट्रेलियाको उच्च स्कोरमा शन मार्शले शतकीय इनिङस खेले । मार्शले १३१ रनको योगदान दिए । यस्तै ग्लेन म्याक्स्वेलले ४८ रन जोड्दा मार्कुस स्टोनिसले २९ रन बनाए ।
भारतका भुवनेश्वर कुमारले ४ तथा मोहमद सामीले ३ विकेट लिए ।
आज भारत अष्ट्रेलियालाई हराएर सिरिज १ - १ को बराबरी गर्न चाहन्छ । पहिलो खेलमा भारत अष्ट्रेलियासंग ३४ रनले पराजित भएको थियो । यता, अष्ट्रेलिया भने दोस्रो खेल जित्दै सिरिज घरमै राख्न चाहन्छ ।
तीन खेलको सिरिज जोगाउन भारतलाई आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ । सिड्नीमा गत शनिबार रोहित शर्माले शतकीय इनिङस खेलेपनि भारत पराजित भएको थियो ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज भने भारतले जितिसकेको छ ।