काठमाडौं। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोटमा विभागीय टोली एपिएफ पोट ३ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा एपिएफ ३ मा परेको हो।
एपिएफ रहेको पोटमा आबुधाबी (युएई), रोयल थिम्पु (भुटान), अल नासर (साउदी अरब) र लियोन सिटी (सिंगापुर) रहेका छन्।
एएफसीका अनुसार मलेसियामा जुलाई १८ मा ‘ड्र’ हुनेछ। प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूहमा चार र तीन समूहमा तीन टोली रहेका छन्।
भुटान, जोर्डन, मलेसिया र साउदी अरबले अगस्ट २५ देखि ३१ सम्म केन्द्रीकृत लिग ढाँचामा एक–एक समूहको खेल आयोजना गर्नेछन्।
एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।