काठमाडौं। विभागीय टोली एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको तयारी सुरु गरेको छ।
एएएफसीले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो। एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार छनोटको ‘ड्र’ का लागि सार्वजनिक गरेको पोटमा एपिएफ ३ मा परेको छ।
नेपाल रहेको पोटमा आबुधाबी (युएई), रोयल थिम्पु (भुटान), अल नासर (साउदी अरब) र लियोन सिटी (सिंगापुर) रहेका छन्।
एएफसीका अनुसार मलेसियामा जुलाई १८ मा ‘ड्र’ हुनेछ। प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा एक समूहमा चार र तीन समूहमा तीन टोली रहेका छन्।
भुटान, जोर्डन, मलेसिया र साउदी अरबले अगस्ट २५ देखि ३१ सम्म केन्द्रीकृत लिग ढाँचामा एक–एक समूहको खेल आयोजना गर्नेछन्। एपिएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो।
राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई एपिएफले अनुबन्ध गर्दै तयारी सुरु गरेको हो। टोलीमा कप्तान तथा गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, अनिता केसी, प्रीति राई, सरु लिम्बु, गीता राना, रेनुका नगरकोटी, सविता रानामगर, हिराकुमार भुजेल, रश्मीकुमार घिसिङ, निशा थोकरलगायत राष्ट्रिय टोलीका खेलाडी छन्।