काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डेभिड वार्नरले हालै अर्को वर्ष हुने एकदिवसीय च्याम्पियन्स ट्रफीका लागि आफूलाई उपलब्ध रहेको बताएका छन्। तर, उनी राष्ट्रिय टोलीमा भने नरहने भएका छन्।
वार्नरले गत जनवरीमा एकदिवसीय विश्वकप जितेसँगै यो फर्म्याटमा बिदा लिएका थिए। तर, अस्ट्रेलिया टी–२० विश्वकपबाट बाहिरिएपछि वार्नरले हालै सामाजिक सञ्जालमा एक पोस्ट गर्दै च्याम्पियन्स ट्रफीका लागि आफूलाई उपलब्ध गराउने बताएका थिए । तर, अस्ट्रेलियाली टोलीका छनोटकर्ता जर्ज बेलीले वार्नरले पूर्ण रूपमा सन्न्यास लिएको मानिएको बताएका छन्।
बेइलीले भने, 'डेभिडले सन्न्यास लिइसकेका छन् र तीनवटै फर्म्याटमा उनले जुन तरिकाले करियर बनाएका छन्, त्यसको प्रशंसा गर्नुपर्छ । त्यसैले हाम्रो रणनीति के हो भने उनी पाकिस्तानमा हुने छैनन् । कसले कहिले ठट्टा गरिरहेको छ भन्ने कुरा हामीलाई कहिल्यै थाह हुँदैन..... उनको करियर शानदार रहेको छ ।'
बेइलीले आफू अझै पनि बाँकी सिनियर खेलाडी (टी–२० र एकदिवसीय) लाई प्राथमिकता दिइरहेको तर भविष्यका लागि पनि तयारी गरिरहेको बताए । विशेषगरी टी–२० फर्म्याटमा उनले आफ्नो टिममा परिवर्तन गर्ने योजना बनाएका छन्। यही कारण कूपर कोनोली र फेजर म्याकगर्कलाई इंग्ल्यान्ड र स्कटल्यान्ड भ्रमणमा मौका दिइएको छ ।
म्याथ्यु वेडले अब यो फर्म्याट छोडेका छन्। तर, यो आधिकारिक रूपमा खुलासा गरिएको छैन। मिचेल स्टार्क र ग्लेन म्याक्सवेललाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट आराम दिइएको छ। सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपअघि उनी उपलब्ध हुने या नहुने टुंगो छैन। अस्ट्रेलियाले यस वर्ष ९ टी–२० खेल खेल्नुपर्ने छ, जसमा उसले स्कटल्यान्ड, इङ्ल्यान्ड र पाकिस्तानसँग तीन सिरिज खेल्ने छ। त्यसपछि अर्को वर्ष जुलाईमा वेस्ट इन्डिजविरुद्ध टी–२० खेल खेल्नुअघि उसले कुनै खेल खेल्ने छैन । यसको अर्थ यो हो कि यहाँबाट अर्को टी–२० विश्वकपसम्म अस्ट्रेलियाले १७ टी–२० आई खेल खेल्नेछ।