काठमाडौं। एक सय २५ क्याप जितेका स्विट्जरल्यान्डका जेर्डन शाकिरीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्। उनी पछिल्ला तीन विश्वकप र युरो कपमा गोल गर्ने एक मात्र खेलाडी हुन्।
हाल अमेरिकाको सिकागो फायरबाट खेलिरहेका ३२ वर्षीय मिडफिल्डर शाकिरी स्विट्जरल्यान्ड ग्रानिट जाकापछि (१३० क्याप) दोस्रो सर्वाधिक क्याप खेलाडी बनेका छन्।
बायर्न म्युनिख र लिभरपुलका पूर्वविंगरले मार्च २०१० मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। उनले चार विश्वकप र तीन युरो कपमा आफ्नो देशको प्रतिनिधित्व गरे।
जुलाई ६ मा ड्युसेलडोर्फमा भएको युरो कपको क्वार्टरफाइनलमा १–१ को बराबरी खेलेपछि इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराएको थियो।
'सात वटा प्रतियोगिता, धेरै गोल, स्विस राष्ट्रिय टोलीसँग १४ वर्ष र अविस्मरणीय क्षण। राष्ट्रिय टोलीलाई बिदाइ गर्ने समय आएको छ। धेरै सम्झनाहरू बाँकी छन् र म सबैलाई भन्छु धन्यवाद!,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
स्विट्जरल्यान्डका लागि शाकिरीले ३२ गोल गरेका छन्। अलेक्जेन्डर फ्रेइले ४२ र कुबिले तुर्किलमाज र म्याक्स एबेग्लेनले ३४ गोल गरेका छन्।