काठमाडौं । सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाईनलमा आज सीएमजी संकटाले क्यामरुनको दाफिनास एफसी क्लबसंग प्रतिस्पर्धा गर्दैैछ ।
खेल धनगढीस्थित क्षेत्रीय रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
रुपन्देहीको गोर्खा ब्वाईजलाई हराउँदै संकटा क्वार्टरफाईनल प्रवेश गरेको थियो । क्यामरुनको क्लब बाई पाएर सिधै क्वार्टरफाईनल खेल्न लागेको हो । संकटाका लागि क्यामरुनको टोली नयाँ प्रतिद्वन्दी हो । खप्तड गोल्डकपमा सहभागिता जनाएको क्यामरुनको क्लबले मोफसलका विभिन्न नकआउट प्रतियोगिता समेत खेल्नेछ ।
सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट नतिजा निकालेको संकटा सोही प्रर्दशनलाई मोफसलका प्रतियोगितामा दोहर्याउन चाहन्छ । मोफसलमा उत्कृष्ट नतिजा निकालेपछि संकटाले क्लबको मुख्य प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गर्दै लिग हेर्ने जिम्मेवारी दिएको थियो । शीर्ष डिभिजनको डेब्यु सिजनमै उनले क्लबलाई लिगको उपविजेता बनाउन सफल भएका थिए ।
आजको खेलको विजेताले माघ ३ गते फाइनल प्रबेशको लागी बिभागिय नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।