काठमाडौं। जर्मनी युरो २०२४ को क्वार्टरफाइनलबाटै बाहिरिएपछि स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
‘राष्ट्रिय टोलीका १३१ खेल र ४५ गोलपछि म बिदाइ लिँदैछु,’ मुलरले भिडियो वक्तव्यमा भनेका छन्। सेप्टेम्बरमा ३५ वर्ष पुगेका मुलर सन् २०१४ को विश्वकप जित्ने जर्मन टोलीका प्रमुख सदस्य थिए।
सेमिफाइनलमा आयोजक ब्राजिलमाथि जर्मनीको ७–१ को अविस्मरणीय जितमा पनि उनले पहिलो गोल गरेका थिए। ‘जब मैले १४ वर्षअघि जर्मन राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थिएँ, मैले यो सपनामा पनि सोचेको थिइनँ,’ मुलरले भनेका छन्, ‘देशको लागि खेल्न पाउँदा मलाई सधैं गर्व लाग्छ। हामीले सँगै उत्सव मनायौं र कहिलेकाहीं सँगै आँसु झार्यौं।’
युरो २०२४ बाट जर्मनी बाहिरिएपछि मुलरले सन्न्यासको संकेत गरेका थिए। क्वार्टरफाइनलमा स्पेनसँग जर्मनी २–१ गोलअन्तरले पराजित भएको थियो। सोही स्पेनिस टोलीले आइतबारइङ्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको थियो।
सन् २०१४ को विश्वकप विजेता जर्मनीको राष्ट्रिय टोलीमा अब गोलकिपर म्यानुअल नुएर एक मात्र खेलाडी रहनेछन्। जर्मनी र रियल मड्रिडका मिडफिल्डर टोनी क्रुसले युरोअघि नै फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए।
मुलरले आफ्नो क्लब बायर्न म्युनिखको लागि खेल्न जारी राख्नेछन्। बायर्नसँग उनको २०२५ सम्म सम्झौता छन्। जर्मनीका लागि लोथर म्याथियस र मिरोस्लाभ क्लोजले मात्र सर्वाधिक गोल गर्ने मुलरभन्दा बढी खेल खेलेका छन्।