काठमाडौं। अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिकाको फाइनल खेल दोस्रो हाफमा चलिरहेको छ। र, अर्जेन्टिनाका कप्तान तथा स्टार लिओनल मेसी दाहिने खुट्टाको चोटका कारण मैदानबाट बाहिरिएका छन्।
खेलको ६६औं मिनेटमा मेसी मैदानबाट बाहिरिएका हुन्। मैदान बाहिरिएपछि उनी बेन्चमा बसेर रुएका थिए। उनको स्थानमा निकोलस गोन्जालेज मैदान प्रवेश गरेका छन्।
३७ वर्षीय मेसी प्रतियोगिताभर फिट थिएनन्। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडामाथि २-१ गोलअन्तरले जित निकाल्दा उनले एक गोल गरेका थिए। सोही गोल नै उनको प्रतियोगिताको पहिलो हो।
मेसीको कप्तानीमा रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा छ। कोलम्बियाले दोस्रो पटक कोपा अमेरिका जित्ने र सन् २०२२ को फेब्रुअरीमा अर्जेन्टिनाविरुद्धको अन्तिम हारको बदला लिने लक्ष्य राखेको छ।