काठमाडौं। इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो भविष्यबारे निर्णय गर्ने समय अहिले नभएको बताएका छन्।
बर्लिनमा सोमबार भएको युरो २०२४ को फाइनलमा थ्री लायन्सलाई स्पेनले २–१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जितेको थियो।
५३ वर्षीय साउथगेट सन् २०१६ देखि इङ्ल्यान्डको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन्। उनको सम्झौता डिसेम्बरमा सकिँदैछ।
आफ्नो भविष्यबारे सोधिएको प्रश्नमा साउथगेटले बीबीसीसँग भने, ‘अहिले यस विषयमा बोल्ने सही समय होइन। मैले सही व्यक्तिहरूसँग कुरा गर्न आवश्यक छ र आफैंलाई केही समय दिन आवश्यक छ। अर्को फाइनलमा पुग्नका लागि... यो अवसर पाउनु सौभाग्यको कुरा थियो।’
साउथगेटको नेतृत्वमा इङ्ल्यान्ड लगातार युरो फाइनलमा पुगेको थियो। त्यस्तै, रुस विश्वकप २०१८ को सेमिफाइनल र कतार विश्वकप २०२२ को अन्तिम आठमा पुगेको थियो।
इङ्ल्यान्ड समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे पनि यसै महिना जर्मनीमा उनको आलोचना भएको थियो। समूहचरणमा स्लोभेनियासँग ०–० गोलको बराबरी खेलेपछि समर्थकले साउथगेटलाई लक्षित गर्दै बियरका कप बर्साएका थिए।
साउथगेटले आइटिभीसँग भने,‘हामी जहाँ पुग्यौं, त्यसको श्रेय खेलाडीले लिनेछन्। मलाई लाग्छ, स्पेनले खेलमा बढी नियन्त्रण गरेको थियो। इङ्ल्यान्ड अनुभवका हिसाबले निकै राम्रो स्थितिमा छ। यो टोलीका अधिकांश सदस्य अर्को विश्वकप र सम्भवतः अर्को युरोका लागि हुनेछन्।’
साउथगेटले आफ्नो आठ वर्षे जिम्मेवारीबारे सोच्न गाह्रो भएको स्वीकार गरे पनि भविष्यमा हुने ठूला प्रतियोगितामा इङ्ल्यान्ड सफल हुनेमा कुनै शंका नरहेको बताए। ‘पक्कै पनि इङ्ल्यान्डलाई दुई पटक फाइनलसम्म पुर्याउने काम सजिलो छैन। तर, हामी यहाँ जित्नका लागि आएका थियौं तर सकेनौं,’ उनले भने, ‘इङ्ल्यान्डसँग केही उत्कृष्ट खेलाडी छन्। महत्त्वपूर्ण खेलमा हामी लगातार पुनरागमन गर्दै आएका छौं।’