काठमाडौं। इङ्ल्यान्डका कप्तान ह्यारी केनले युरो कप २०२४ मा तीन–तीन गोल गरेका अन्य पाँच खेलाडीसँग गोल्डेन बुट बाँडेका छन्।
स्पेनका डानी ओल्मो, नेदरल्यान्ड्सका कोडी गाक्पो, जर्मनीका जमाल मुसियाला, स्लोभाकियाका इभान सरान्ज र जर्जियाका जर्ज मिकाउताड्जेले पनि गोल्डेन बुट जितेका छन्।
युरो कप २०२४ को फाइनलमा केन र ओल्मो दुवैले गोल गर्न सकेनन्, जुन खेलमा स्पेन २–१ ले विजयी भएको थियो। यसअघिका युरोमा टाईब्रेकरका रुपमा असिस्टको प्रयोग गरिएको थियो। जसअनुसार लाइपजिगका मिडफिल्डर ओल्मोले यो पुरस्कार पाउने थिए। तर, युइएफएले यस वर्ष गोलको आधारमा मात्र विजेता तय हुने घोषणा गरेको थियो।
गत संस्करण पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र चेक स्ट्राइकर प्याट्रिक सिक दुवैले पाँच–पाँच गोल गरेका थिए। तर, एक असिस्ट गरेका कारण रोनाल्डोलाई गोल्डेन बुट विजेता घोषित गरिएको थियो।
बायर्न म्युनिखका ३० वर्षीय केनले समूहचरणमा डेनमार्कविरुद्ध गोल गरेका थिए भने अन्तिम १६ मा स्लोभाकियाविरुद्ध अतिरिक्त समयमा गोल गरेका थिए। बुन्डेसलिगामा ३६ गोल गर्दै युरोपको कुनै पनि शीर्ष डिभिजनमा सर्वाधिक गोलकर्ताका रुपमा पहिलो पटक युरोपियन गोल्डेन बुट जितेका केनका लागि यो सिजन निकै राम्रो रह्यो।
टोटनह्यामका पूर्वस्ट्राइकर केनले सन् २०१८ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए। स्पेन र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रिले चोटका कारण फाइनल गुमाए।