काठमाडौं। सन् १९६६ पश्चिम जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्डले पहिलोपल्ट उपाधि जितेको थियो।
त्यसयता विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न नसकेको पनि इङ्ल्यान्ड चार वर्षको अन्तरालमै दुईपल्ट युरो कपको फाइनलमा स्थान बनाउन सफल भएको थियो।
सन् २०२० मा घरेलु मैदानमा भएको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित हुनु इङ्ल्यान्डका लागि दुर्भाग्यपूर्ण थियो। किनभने उक्त खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो।
तर, यसपल्ट त्यो घाउ मात्रै होइन, ५८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधिको खडेरी पनि इङ्ल्यान्ड मेटाउन चाहन्थ्यो। तर, जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले इङ्ल्यान्डको त्यो सपना अन्त्य गर्दिएको छ।
योसँगै इङ्ल्यान्डले उपाधि खडेरी तोड्न सन् २०२६ को विश्वकप र २०२८ को युरो कपसम्म कुर्नपर्ने भएको छ।