एजेन्सी । इंग्लिश क्लब टोटेनहमले दक्षिण कोरियाली खेलाडी सन ह्युङ मिनमाथि भएको दुर्व्यवहारको छानबिन गर्ने भएको छ ।
२६ बर्षिय सनमाथि समर्थकहरुबाट (रेसिजम) जातीय दुर्व्यवहार भएपछि क्लबले छानबिन अघि बढाएको हो ।
घरेलु मैदान वेम्बलीमा आइतबार राति म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा विंगर सनलाई समर्थकहरुले दुर्व्यवहार गरेका थिए । जुन खेल टोटेनहमले १ - ० ले हारेको थियो ।
युनाइटेडसंग पराजित भएको खेलमा समर्थकहरुले समाजिक संजाल र मैदानमा सनलाई अपमान गर्ने व्यवहार र पोस्टहरु गरेका थिए । र, क्लबले अनुसन्धान अघि बढाईसकेको जनाएको छ ।
'हामी जातीय दुर्व्यवहारबारे छानबिन गरिरहेका छौं । क्लबले जातीय दुर्व्यवहार, समाज विरोधी व्यवहार र भेदभाव सहन सक्दैन,' क्लबका प्रवक्ताले भनेका छन् ।
प्रहरीले दुर्व्यवहारको आरोपमा स्टेडियमबाट केहि समर्थकहरुलाई पक्राउ गरिएको समत जनाएको छ ।