काठमाडौं। कोपा अमेरिकाको उपाधिका लागि साबिक विजेता अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दै छ। खेल नेपाली समयअनुसार सोमबार बिहान ५:४५ बजे हुनेछ।
जारी प्रतियोगितामा कोलम्बियाले सेमिफाइनलमा उरुग्वेलाई १-० ले पराजित गर्दै २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको थियो। अन्तिमपटक कोलम्बियाले सन् २००१ को फाइनल मेक्सिकोलाई पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।
कोलम्बिया २८ खेलयता अपराजित रहेको छ। यो टोली अन्तिमपटक सन् २०२२ को फेब्रुअरीमा विश्वकप २०२२ का लागि भएको छनोटमा अर्जेन्टिनासँग १-० गोलअन्तरले पराजित भएको थियो।
उक्त खेलमा लउटारो मार्टिनेजको निर्णायक गोल गरेका थिए। अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनाएको हो।
सोमबार बिहान हुने खेलमा जित हात पार्ने सके अर्जेन्टिना कोपा अमेरिका सर्वाधिक जित्ने टोली बन्ने छ। उरुग्वे र अर्जेन्टिना दुवैले समान १५ पटक कोपा अमेरिका जितेका छन्।