काठमाडौं। युरो कपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड आमनेसामने हुँदैछन्। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा हुने यो खेल राति १२:४५ बजे सुरु हुनेछ।
पहिलो सेमिफाइनलमा एक गोलले पछि परिसकेको अवस्थामा फ्रान्सविरुद्ध चार मिनेटमा दुई गोल गर्दै स्पेन फाइनलमा प्रवेश गरेको थियो।
दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध २–१ गोलअन्तरको पुनरागमन जित हासिल गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो।
युरोमा लगातार दोस्रो पटक फाइनल पुगे पनि इङ्ल्यान्ड उपाधिविहीन छ। यसअघि इङ्ल्यान्ड सन् २०२० को युरो फाइनलमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
इतिहास बनाउने दाउमा दुवै टोली
लगातार दोस्रोपटक फाइनलमा पुगेको इङ्ल्यान्ड अघिल्लो संस्करणको हार बिर्सिँदै पहिलोपल्ट युरो कप उचाल्न चाहन्छ। समूह ‘सी’ चरणमा इंल्यान्डले एक जित र दुई बराबरी खेल्दै पाँच अंकका साथ अन्तिम १६ मा स्थान पक्का गरेको थियो।
स्विट्जरल्यान्डसँग इङ्ल्यान्डले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेको थियो। तर, पेनाल्टी सुटआउटमा इङ्ल्यान्ड ५–३ ले विजयी भयो।
स्पेनले भने जारी प्रतियोगितामा शतप्रतिशत जित हासिल गरेको छ। सन् २०१२ पछि पहिलोपल्ट फाइनल पुगेको स्पेनले बराबरी र पेनाल्टीको अनुभव गर्न पाएको छैन।
स्पेनले समूह ‘बी’ कोस्टारिका, साबिक विजेता इटाली र अल्बानियालाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो। अन्तिम १६ जर्जियालाई ४–१ गोलअन्तरले पराजित गरेको स्पेनले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पाखा लगाएको थियो।
स्पेनले यसअघि सन् १९६४ मा पहिलो पटक युरो कप जितेको। त्यसपछि सन् २००८ र २०१२ मा मा स्पेनले लगातार युरो कप जितेको थियो।