काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबार दुई खेल हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबार बाट सुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड क्लब (एनआरटी)ले चर्च बोइजको सामना गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
यस्तै, आइतबार नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लब भिड्ने छन्। यो खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ।
यस पटक गत सिजन ए डिभिजन लिग खेलको १२ क्लब एपीएफ फुटबल क्लब, चर्च बोइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगितामा भाग लिनेछन्।
प्रतियोगिताको तयारीबापत सहभागी क्लबले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन्। सहभागी १२ क्लबले उपाधि जित्ने शीर्ष टोलीले डबल राउन्ड रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन्।
लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन्।