काठमाडौं। सिमोन इन्जाघीले इटालियन सिरी 'ए' च्याम्पियन इन्टर मिलानसँग एक वर्ष सम्झौता थप गरेका छन्।
४८ वर्षीय इन्जाघीले एन्टोनियो कोन्टेको बहिर्गमनपछि सन् २०२१ मा दुई वर्षका लागि जिम्मेवारी सम्हालेका थिए। 'यो नयाँ सम्झौतासँगै प्रशिक्षकले सन् २०२६ सम्म टोली नेतृत्व गर्नेछन्,' क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
इन्टरले गत अप्रिलमा सिटी प्रतिद्वन्द्वी एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेल बाँकी छँदै २०औं लिग उपाधि जितेको थियो। तीन सिजनमा लाजियोका पूर्वप्रशिक्षकले क्लबलाई तीन इटालियन सुपर कप, दुई इटालियन कप र २०२३ मा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।
गत सिजन च्याम्पियन्स लिग र इटालियन कपमा अन्तिम १६ बाट बाहिरिएको इन्टरले सिरी 'ए' मा २९ जित, सात बराबरी र दुई हार बेहोरेको थियो।