काठमाडौं। मुख्य प्रशिक्षक मार्सेलो बिल्साले कोपा अमेरिकाको सेमिफाइनलबाट उरुग्वेका बाहिरिएपछि कोलम्बियाका समर्थक र आफ्ना खेलाडीबीच भएको झडपमा आयोजकको आलोचना गरेका छन्।
कोलम्बियासँग उरुग्वे १–० ले पराजित भएपछि उत्पन्न भएको हिंसात्मक घटनापछि कोन्मेबोलले सुरु गरेको अनुशासनको कारबाहीप्रति शनिबार बिल्साले आक्रोश पोखेका हुन्। उरुग्वेले क्यानडाविरुद्धको तेस्रो स्थानका लागि खेल्दैछ।
लिभरपुलका स्टार डार्विन नुनेजसहित उरुग्वेका धेरै खेलाडीले खेलपछि कोलम्बियाली समर्थकसँग झगडा गरेका थिए। उरुग्वेका खेलाडीले बैंक अफ अमेरिका स्टेडियममा कोलम्बियाली समर्थकले आफ्ना परिवारका सदस्यलाई आक्रमण गरे र आफूहरूले बचाउ गरेको दाबी गरेका छन्।
उक्त घटनापछि उरुग्वेका एक दर्जनभन्दा बढी खेलाडीमाथि कोन्मेबोलले अनुसन्धान गरिरहेको छ। बिएल्साले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'खेलाडीहरूले कुनै पनि मानिसले जस्तै प्रतिक्रिया दिएका हुन्। यदि तपाईंले आफ्नी श्रीमती, आमा, बहिनी वा बच्चामाथि आक्रमण भएको देख्नुहुन्छ भने रक्षा गर्न पर्दैन?
बुधबारको खेलमा कोलम्बिया र उरुग्वेका समर्थकहरु एकै स्थानमा थिए। उरुग्वेको हारपछि अन्तिम सिटी बज्दा हिंसा भड्कियो र केही मिनेटसम्म जारी रह्यो, जबसम्म पुलिस आइपुगेको थिएन।
खेलाडीको परिवारको सुरक्षा सुनिश्चित गर्न असफल भएकोमा यस घटनाको दोष प्रतियोगिता आयोजकमाथि थोपर्नुपर्ने बिएल्साले बताए।
'काखमा बच्चा बोकेका आमाहरू थिए, श्रीमती र बहिनीहरूमाथि आक्रमण भइरहेको थियो। दर्शकको सुरक्षाको फुटबल टोली वा महासंघसँग कुनै सम्बन्ध छैन। यसका लागि को जिम्मेवार छ भन्ने कुरा तपाईंलाई थाहा छ,' उनले भने, 'कसैले पनि हिंसात्मक प्रतिक्रिया हेर्न चाहेनन्। तर पहिलो कुरा के हो भने, कुन कुराले प्रतिक्रियालाई उत्तेजित बनायो। कुनै पनि प्रतिबन्ध फुटबलरहरूका लागि होइन, तर उनीहरूका लागि हुनुपर्छ जसले यस्तो व्यवहार गर्न बाध्य पारे।'
बिएल्साले कोपा अमेरिकाको अन्य सांगठनिक पक्षहरूको पनि आलोचना गरेका थिए। संयुक्त राज्य अमेरिकामा यस वर्ष कन्काकाफ राष्ट्रहरूलाई समावेश गर्न १६ टोली पुर्याइएको थियो। उरुग्वेका प्रशिक्षकले कृत्रिम टर्फमा टाँसिएको घाँसले ढाकिएका मैदानहरू गुणस्तरहीन भएको बताएका छन्।
बिएल्साले प्रतियोगिताका क्रममा प्रदान गरिएको प्रशिक्षण पिचहरू राम्रो नभएको पनि बताएका छन्।