काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इरानका पूर्वफुटबलर अली दाइलाई पछि पार्दै अर्जेन्टिनी कप्तान लिओनल मेसी दोस्रो स्थानमा उक्लिएका छन्।
मेसीले सन् २०२४ को कोपा अमेरिकाको क्वार्टरफाइनलसम्म गोलको खाता खोल्न सकेका थिए। तर, फाइनल प्रवेशका लागि भएको भिडन्तमा उनले क्यानडाविरुद्ध २–० को जित निकाल्दा अर्जेन्टिनाको लागि एक गोल गरेका थिए।
यो गोल यस प्रतियोगिताको पहिलो हो। योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा १०९ औं गोल पूरा गरेका छन्। कोपा अमेरिकामा भने यो उनको १४औं गोल हो। ३७ वर्षीय मेसीले सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेटलाइफ रंगशालाको लकर रुमबाहिर सम्बोधन गर्दै सन्न्यासको घोषणा गरेका थिए। तर, आठ पटकका बालोन डी'ओर विजेता मेसीले सात हप्तापछि नै आफ्नो सन्न्यासको निर्णय फिर्ता लिए।
त्यसयता उनले ७३ अन्तर्राष्ट्रिय खेलमा ५४ गोल गरेका छन्। उनको कप्तानीमा अर्जेन्टिनाले २०२१ कोपा अमेरिका र २०२२ को विश्वकप जितेको थियो। उनी आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्त्यनजिक छन्।
तर, उनी अहिले नै सन्न्यास लिन भने चाहँदैनन्। भन्छन्,'मैले भनिसकेको छु, म निरन्तरता दिन चाहन्छु। भविष्यमा के हुन्छ भनेर सोच्दिनँ। म ३७ वर्षको भएँ। तर, मैले सन्न्यास कहिले लिन्छु भनेर भगवानलाई मात्रै थाहा छ।'