काठमाडौं। साउदी क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोसँग सम्झौता एक वर्ष लम्ब्याउन वार्ता सुरु गरेको छ। पोर्चुगलका कप्तान सन् २०२६ सम्म क्लबमा रहनेमा आशावादी छन्।
यद्यपि, छलफल प्रारम्भिक चरणमा छ। रोनाल्डोले सम्झौतालाई अन्तिम रूप दिन कुनै हतार नगरेको बुझिएको छ, तर उनी युरोप फर्कन वा अन्यत्र जान चाहँदैनन्।
सन् २०२२ को डिसेम्बरमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट उनी अल नासरमा अनुबन्धित भएका थिए। रोनाल्डोले त्यसयता ६४ खेलमा ७० गोल गरिसकेका छन्। गत सिजन उनले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका थिए। त्यसक्रममा उनले ३१ खेलमा कीर्तिमानी ३५ गोल गरे।
फ्रान्ससँग पराजित हुँदै पोर्चुगल बाहिरिनुअघि रोनाल्डोले आफू अन्तिम पटक युरो कपमा खेलिरहेको बताएका थिए। तर, ३९ वर्षीय रोनाल्डोले सन् २०२६ को विश्वकप खेल्ने सम्भावनालाई अस्वीकार गरेका छैनन्।
संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने उक्त विश्वकपमा सहभागिता जनाउँदा उनी ४१ वर्षका हुनेछन्। अल नासरले उनलाई तबसम्म साउदी अरबमा राख्न चाहन्छन्।
रोनाल्डोको हालको सम्झौता प्रतिसिजन १७ करोड ३० लाख पाउन्डको रहेको छ। जसमा थप बोनस पनि रहेको छ र नयाँ सम्झौताले थप तलब वृद्धि हुने अपेक्षा गरिएको छ। रोनाल्डोसँग गैरफुटबल आय आर्जन गर्ने क्षमता पनि छ।
सन् २०२५ देखि सुरु हुने साउदी प्रो लिगले आफ्नो नयाँ टिभी राइटर्समा पुनः छलफल गरेजस्तै रोनाल्डोलाई विस्तारित सम्झौतामा बाँध्नु पनि महत्त्वपूर्ण मानिएको छ। उनको आगमनले एक ठूलो अन्तर्राष्ट्रिय र विशेष गरी पोर्चुगिज दर्शकहरूलाई यो लिगमा आकर्षित गरेको छ। आफ्नो म्यानचेस्टर युनाइटेडका पूर्वटिममेट ब्रुनो फर्नान्डिसलाई पनि उनी यस लिगमा भित्र्याउन चाहन्छन्, ताकि पोर्चुगलबाट अर्को मार्की नाम आओस्।
रोनाल्डो साउदी अरबमा बसोबास गर्दै आएका छन् र त्यहाँ खेल्दा आफूलाई कुनै असर नभएको बताउँदै आएका छन्। उनले साउदी लिग विश्वको नम्बर वान लिग रहेको दाबी गर्दै आएका छन्।
‘साउदी लिग लिग वानभन्दा खराब छैन। यो लिगमा बढी प्रतिस्पर्धात्मक छ । यो लिग अहिले फ्रेन्च लिगभन्दा राम्रो छ,’ उनले भनेका छन्।