काठमाडौं। कोपा अमेरिका समापननजिक पुगेको छ। र, त्योसँगै एउटा प्रतिष्ठित ‘ट्रफी’ अर्थात् ‘प्लेयर अफ द टुर्नामेन्ट’ कसको हातमा पर्छ? भन्ने कुराको खुलदुली पनि लगभग मेटिने अवस्थामा छ।
यो ‘ट्रफी’ सन् २०२१ मा अर्जेन्टिनी स्टार लियोनल मेसीले प्राप्त गरेका थिए। तर, यस वर्ष यो ‘ट्रफी’ मेसीजस्ता कुलिनले होइन, नयाँ फुटबलरले प्राप्त गर्नेछन्।
त्यसको अग्रपंतीमा छन्, कोलम्बियाका कप्तान जेम्स रोड्रिगेज। यी विंगर प्रतियोगिताभर उत्कृष्ट खेलाडीभन्दा कम छैनन्। ३३ वर्षीय रोड्रिगेजले हालसम्म पाँच खेलमा ६ ‘असिस्ट’ र एक गोल मात्रै गरेका छैनन् चार पटक ‘प्लेयर अफ द म्याच’को अवार्ड पनि हासिल गरेका छन्।
कोलम्बियालाई सन् २००१ पछि पहिलो पटक कोपा अमेरिकाको उपाधि जिताउन रोड्रिगेज कटिबद्ध छन्। यी रियल मड्रिडका पूर्वस्टारले यो उपलब्धि हासिल गरे भने निस्सन्देह ‘प्लेयर अफ द टुर्नामेन्ट’ ट्रफी सुरक्षित गर्नेछन्।
यस्तै, अर्जेन्टिनाका इमिलियानो मार्टिनेज कोपा अमेरिका ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधि जित्ने पहिलो गोलकिपर बन्ने संघारमा छन्। ३१ वर्षीय प्रिमिय लिग क्लब एस्टन भिल्लाका गोलकिपरले आफ्नो राष्ट्रिय टोलीका लागि शानदार प्रदर्शन गर्दै आएका छन्।
मार्टिनेजले अहिलेसम्म पाँच खेलमा चार ‘क्लिन सिट’ राखेका छन्। इक्वेडरविरुद्धको क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फत गोल खाएका थिए। तर, सोही खेलमा उनले ‘प्लेयर अफ द म्याच’को अवार्ड पनि जितेका थिए।
२८ वर्षीय डेभिन्सन सान्चेजले जारी प्रतियोगिताभर प्रभावशाली प्रदर्शनको शृंखला कायम राखेका छन्। गालाटासारेका डिफेन्डरले कोलम्बियाली टोलीलाई अहिलेसम्म तीन वटा ‘क्लिन सिट’ सुरक्षित गर्न मद्दत गरेका छन्।
कोलम्बियाले सेमिफाइनलमा उरुग्वेमाथि जित हात पार्दा सान्चेजले अर्को उल्लेखनीय प्रदर्शन गरे। डेनियल मुनोजको पहिलो हाफको रातो कार्डपछि लगभग एक घण्टासम्म १० जना खेलाडीसँग खेल्दा पनि उनले कुशलतापूर्वक ‘ब्याक लाइन’लाई नियन्त्रणमा राखे। कोलम्बियाको कोस्टारिकाविरुद्धको जितमा पनि यी डिफेन्डरले गोल गरेका थिए।
‘प्लेयर अफ द टुर्नामेन्ट’का लागि अर्का प्रबल दाबेदार हुन्, २६ वर्षीय अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेज। सीमित खेल समयको बाबजुद इन्टर मिलानका कप्तानले चार गोल गरेका छन्। उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन्।
मार्टिनेजले लियोनल स्कालोनीको टोलीलाई फाइनलसम्म पुर्याउन आफूले दिनुपर्ने सब थोक दिएका छन्। यद्यपि यो अनिश्चित छ, उनी फाइनलमा सुरुआती ११ मा पर्छन् कि पर्दैनन्। मर्क्युरियल फरवार्डले वैकल्पिक खेलाडीका रूपमा प्रभावकारिता प्रदर्शन गरेका छन्।