काठमाडौं। मुख्य प्रशिक्षक मुरात याकिनले स्विट्जरल्यान्ड राष्ट्रिय टोलीसँग सम्झौता थप्ने भएका छन्।
स्विट्जरल्यान्डले युरो कपको क्वार्टरफाइनलसम्मको यात्रा तय गरेपछि उनी सम्झौता थप्न राजी भएका हुन्। स्विस फुटबल फेडेरेसनले याकिन र सहायक प्रशिक्षक जियोर्जियो कोन्टिनीको म्याद थपका लागि सोमबार पत्रकार सम्मेलन गर्ने जनाएको छ।
तीन वर्षदेखि याकिन स्विट्जरल्यान्ड टोलीमा आबद्द छन्। उनलाई साउदी अरेबियामा क्लबले पनि भित्र्याउने प्रयास गरेको थियो। युरो कपमा स्विट्जरल्यान्ड गत शनिबार इंग्ल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
याकिनको टोलीले अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन इटालीलाई २–० ले हराएको थियो भने समूहचरणमा जर्मनी र स्कटल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो।
युरो कपको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले इंग्ल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो। यद्यपि, पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्ड ५–३ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
सन् २०२२ को विश्वकपको अन्तिम १६ मा पोर्चुगलसँग ६–१ ले पराजित भएयता स्विट्जरल्यान्डले याकिनको नेतृत्वमा १९ मध्ये एक खेलमा मात्र हार बेहोरेको छ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपका लागि युरोपका १२ छनोट समूहमध्ये कुनै एकमा स्विट्जरल्यान्ड शीर्ष टोली हुनुपर्छ। यो ड्र डिसेम्बरमा हुने तय छ ।
१२ समूह विजेताले अर्को वर्ष सीधै विश्वकपमा स्थान बनाउने छन् र थप चार टोली मार्च २०२६ मा युरोपियन प्लेअफबाट छनोट हुनेछन्।