काठमाडौं। भारत र श्रीलंकाबीच यसै महिनाको अन्त्यमा हुने टी–२० र एकदिवसीय सिरिजको तालिका सार्वजनिक भएको छ। श्रीलंका भ्रमण टी–२० सिरिजबाट सुरु हुनेछ। जबकि एकदिवसीय सिरिज १ अगस्टबाट सुरु हुनेछ। श्रीलंका भ्रमणमा भारतले तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्नुपर्नेछ।
भारतले श्रीलंकासँग २६ र २७ जुलाईमा लगातार दुई दिन टी–२० खेल खेल्नेछ। यो सिरिजको अन्तिम खेल २९ जुलाईमा हुनेछ। एकदिवसीय सिरिजका अन्य दुई खेल अगस्ट ४ र ७ मा हुनेछन्।
टी–२० सिरिजका तीनवटै खेल पल्लेकेलेमा र तीनवटै एकदिवसीय खेल कोलम्बोमा खेलाइनेछ। भारतीय प्रशिक्षकका रुपमा गौतम गम्भीरको यो पहिलो भ्रमण पनि हो। मंगलबार साँझ भारतीय टोलीको नयाँ मुख्य प्रशिक्षकमा गम्भीरको नाम घोषणा गरिएको थियो।
राहुल द्रविडको कार्यकाल सकिएदेखि नै अर्को मुख्य प्रशिक्षकको दौडमा गम्भीरको नाम अगाडि थियो। गम्भीरसँग अन्तर्राष्ट्रिय स्तरमा कोचिङको अनुभव छैन तर आईपीएलमा उनको मेन्टरशिपमा, लखनऊ सुपर जायन्ट्स (एलएसजी) लगातार दुई पटक अन्तिम चारमा प्रवेश गरेको थियो भने कोलकाता नाइट राइडर्स (केकेआर) ले गत सिजन आफ्नो आईपीएल इतिहासमा तेस्रो उपाधि जितेको थियो।
भारतले यसअघि जुलाई २०२१ मा सीमित ओभरको सिरिजका लागि श्रीलंकाको भ्रमण गरेको थियो। शिखर धवन उक्त भ्रमणमा भारतीय टोलीको कप्तान थिए भने राहुल द्रविड कार्यवाहक प्रशिक्षकको रुपमा उक्त गएका थिए।
टी–२० विश्वकपपछि भारतीय टोलीको यो दोस्रो भ्रमण हुनेछ। अहिले भारतको युवा टोलीले जिम्बाब्वेमा पाँच खेलको टी–२० सिरिज खेलिरहेको छ। सन् २०२४ को टी–२० विश्वकपमा श्रीलंकाको टोली लिग चरणबाटै बाहिरिएको थियो। हाल यसका खेलाडीहरू लंका प्रिमियर लिगमा खेलाडी व्यस्त छन्।
यस सिरिजमा श्रीलंकाको टोलीसँग विश्व विजेता प्रशिक्षक पनि हुनेछन्। क्रिस सिल्भरउडले राजीनामा दिएपछि श्रीलंकाको अन्तरिम प्रशिक्षकमा सनथ जयसूर्या भर्खरै नियुक्त भएका छन्। सन् १९९६ मा श्रीलंकाले पहिलो र एकदिवसीय विश्वकप जित्दा जयसूर्याले श्रीलंकाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।