काठमाडौं। एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप २०२६/एसियन कप २०२७ छनोटका खेल आयोजना गर्न अयोग्य ठहर्याएपछि गत मार्च र जुनमा नेपालले बहराइन र युएईविरुद्ध ‘होम म्याच’ विदेशी भूमिमा खेल्नुपरेको थियो।
त्यसले राष्ट्रिय खेलकुद परिषद् (राखेप) विवादमा मुछियो। परिषद्को अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्बन्धमै संकट ल्याएको थियो।
नेपालमा साफ यु–२० च्याम्पियनसिप २०२४ र एएफसी च्यालेन्ज लिग २०२४–२०२५ छनोटको प्ले–अफ तथा अक्टोबरमा साफ महिला च्याम्पियनसिप २०२४ हुँदैछ। यी तीन प्रतियोगिताका खेल आयोजनाका लागि देशकै सबैभन्दा पुरानो दशरथ रंगशालाको मैदान तयार छ त ?
मैदान मर्मतको काम गरिरहेको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालीका सीईओ थम्मन भुसाल भन्छन्, ‘पहिलाको हेरिकन मैदानको अवस्था फरक छ। मैदान राम्रो छ। मैदान लगभग तयार भइसकेको छ।’ उनको कम्पनीले अप्रिल १ देखि मैदानको मर्मत सम्भार कार्य थालेको थियो।
सुरुमा दैनिक २०–२५ जना र अहिले दैनिक ५–६ जना मजदुर कार्यरत रहेको उल्लेख गर्दै सीईओ भुसालले भने, ‘पहिला बिग्रेको स्थानमा (मैदानको लेबल) मर्मत गरिसक्यौ। घाँस नभएको स्थानमा घाँस रोप्ने, भएका घाँस मिलाउने, नचाहिनेलाई उखालेर फाल्ने काम भयो। पूर्ण रूपमा अझै सकिसकेको छैन, केही काम बाँकी छ। आउने खेलका लागि हामीसँग समय छ र त्यहीअनुसार काम गरिरहेका छौं।’ उनी पूर्वफुटबलर पनि हुन्।
च्यालेन्ज लिग २०२४–२०२५ छनोटको प्ले–अफमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडले भुटानको लिग विजेता पारो एफसीविरुद्ध अगस्ट १३ मा दशरथ रंगशालामा खेल्ने पक्का गरेको छ। दक्षिण एसियाका ६ देशका युवा टिमले प्रतिस्पर्धा गर्ने साफ यु–२० अगस्ट १६ देखि २८ सम्म हुनेछ भने साफ महिला च्याम्पियनसिपको लागि अक्टोबर १७–३० तोकिएको छ।
विश्वकप/एसियन कप छनोटको दोस्रो चरणमा नेपालले होम म्याच बहराइनविरुद्ध (२२ मार्च) उसैको भूमि रिफा र युएईविरुद्ध (६ जुन) साउदी अरबको दमाममा खेलेको थियो, जहाँ नेपालले बहराइनविरुद्ध ५–० र युएईविरुद्ध ४–० को हार खेपेको थियो।